लागुऔषधकाण्डको नाइके को ?

   ९ भाद्र २०७८, बुधबार १५:३५  

९ भदौँ, रौतहट ।  लागुऔषध राखेर पत्रकारलाई फसाउने कार्यमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखनै संलग्न भएको आरोप लागेका एसपी सिद्धि विक्रम शाहको जिम्मेवारी खोसिएको छ ।

घटनाका मुख्य दोषी रौतहटका प्रहरी प्रमुख सिद्धि विक्रम शाह रहेको कुरा अडियो सार्वजनिक भएपछि उनलाई प्रहरी प्रधान कार्यालयले छानबिनका लागी हेडक्वाटर तानेको छ भने एसएसपीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ । छानबिनका लागी बनाइएको सो समितिले हिजोबाटै काम शुरु गरेको नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुवँरले बताए ।

छानबिन समितिले सत्यथत्य सहित प्रधान कार्यालयलाई प्रतिवेदन पेश गर्ने उनले बताए । प्रहरीको उच्च अधिकारीनै शंकाको घेरामा परेकोले प्रहरी प्रधान कार्यालयले समेत यसलाई विषय चासोका साथ हेरेको प्रवक्ता कुवँरले बताए । तत्कालका लागी रौतहटका नयाँ प्रहरी प्रमुख पठाउने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ ।

एसपी सिद्धि विक्रम शाहको अडियो रेकर्ड सार्वजनिक भए पछि यस घटनाको मुख्य योजनाकार र पर्दा पछाडी बसेका व्यक्ति पता लगाउन प्रहरीलाई दबाव बढेको छ । जिल्लाको प्रहरी प्रमुखले कसको निर्देशन वा प्रलोभनमा मोजिबुल्लालाई फसाएको हो भन्ने जवाफ स्वमं एसपी शाहले नै दिन सक्छन ।

मोजिबुल्लाहलाई फसाएर यसको तार अन्य व्यक्तिहरुलाई जोडदै राजनितिक अभिष्टहरु पुरा गर्न खोजिएको पनि यो प्रकरणले देखाउँछ । खासगरी ईशनाथ नगरपालिका र क्षेत्र नं. २ मा अब हुने निर्वाचनमा यो प्रकरणले असर पार्न सक्ने अनुमान पनि राजनितिक जानकारहरुको रहेको छ । एसपी शाहले २५ लाख रुपैंयाको प्रलोभनमा यो षडयन्त्रको जालो बुनेको आरोपहरु पनि लागेको छ ।

घटनाको निश्पक्ष छानबिनका लागी नेपाल पत्रकार महासंघ रौतहट, मधेश पत्रकार महासंघ रौतहट, नेपाल बार एशोसियसन लगायतका सँस्थाहरुले माँग गरेका छन । घटनाका मुख्य दोषीलाई कारवाहीको दायरामा रौतहटमा दबाव बढेको छ ।