रौतहट प्रहरी माथि गम्भीर प्रश्न

   ६ भाद्र २०७८, आईतवार १२:०४  

६ भदौ, रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्लाभरीका संचारकर्मीहरुलाई भेला पारेर सार्वजनिक गरेको एउटा भिडियोले जिल्ला प्रहरी कार्यालय रौतहट माथि गम्भीर प्रश्न चिन्ह लागेको छ ।

प्रहरीले लागुऔषध मुद्दामा २ निर्दोष व्यक्तिलाई फसाएको प्रमाण स्वरुप सार्वजनिक भएको सिसिटिभी फुटेजमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट परिचालन हुने सादा पोशाकका घुमुवा प्रहरी इन्चार्ज उदय यादव र प्रहरी जवान मनोज साहले योजनाबद्धरुपमा होटेल अगाडी पार्किङ्ग गरिएको मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखेको प्रष्ट देखिएको छ ।

साउन ३२ गते साँझ बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखे पछि गएका ईशनाथ नगरपालिका ८ का मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई नाटकिय ढंगले तिनै सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गर्छन ।

जनताको जनधनको सुरक्षाकालागी खटिनु पर्ने प्रहरीले झुठा मुद्दा लगाउन र पक्राउ गर्न गरेको षडयन्त्रको पर्दाफास भएपछि अहिले जिल्ला प्रहरी कार्यालय रौतहटका कारण सिङ्गो प्रहरी संगठन नै बदनाम भएको छ ।

षडयन्त्रको पछाडी को ?

प्रहरीले प्रयोग गरेका दुई युवा मध्ये सेतो हेलमेटमा देखिएका युवक धिरज यादव हुन । उनी प्रहरी जवान मनोज साहको भाई पर्ने व्यक्ती हुन भने अर्का युवक जितेश यादव हुन ।

घटनाको दिन साँझपख सादा पोशाकमा खटिने प्रहरी जवान साहले धिरज यादवको मोबाइलमा फोन गरेर भेटन बोलाएको र त्यसको केही घण्टा पछि उनीहरु गौर नगरपालिका रोडमा रहेको ग्रीन होटेल अगाडी पुगेका थिए । नातामा भाइपर्ने यादवलाई प्रहरी जवान साहले लागुऔषध उपलब्ध गराएर मोटरसाइकलमा राख्न लगाएका थिए । षडयन्त्रका नाइके असइ यादवको प्रत्यक्ष निगरानीमै सबै काम भएको सिसिटिभीले देखाएको छ ।

रौतहटबाट संचालन हुने अनलाइन न्यूज पोर्टलका संचालक रहेका मोजिबुल्लाहको मोटरसाइकलमा नाइट्राभेट राख्न निर्देशन दिने प्रहरीकै अधिकारी रहेका छन । जिल्लाका उच्च अधिकारीले असइ यादवको नेतृत्वमा सो घटना गराएका हुन ।
असइ यादव र जवान साहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरले झिकाएर अनुसन्धानको प्रक्रिया अगाडी बढाएको छ । घटनामा संलग्न २ युवालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा अनुसन्धानको लागी राखिएको छ । प्रहरी आफै संलग्न घटनालाई साम्य बनाउन अन्य व्यक्तिलाई फसाउने अर्को जालो बुन्नु भन्दा प्रत्यक्ष उपस्थीत भएर लागुऔषध राख्न लगाएका प्रहरी कर्मचारीलाई कडा अनुसन्धान गर्ने हो भने योजनाकारको पोल अवश्य खुल्ने छ ।

अनुसन्धानको नाममा प्रहरीले प्रयोग गरेको युवाहरुलाई भन्दा ती प्रहरीहरुलाई माथि नै छानबिन गर्दा कसको निर्देशनमा यो षडयन्त्र भएको भन्ने प्रष्ट हुने पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताए । “त्याहाँ त प्रहरी आफै उपस्थीत छ ।” अध्यक्ष झाले भने “घटनाका बारेमा अरुलाई सोध्नु भन्दा त तिनै प्रहरीलाई सोध्दा र उनीहरुको मोबाइलको डिटेल हेर्दा थाहा भइ हाल्छ नी ।” षडयन्त्रको पछाडी अन्य बाहिरी व्यक्ति भन्दा पनि प्रहरी आफै रहेको जानकारहरु बताउछन ।

मोजिबुल्लाहलाई खाजा खान होटेलमा बोलाउने मान्छे को थियो र प्रहरीले कसको निर्देशनमा लागुऔषध मोटरसाइकलमा राख्यो भन्ने प्रश्नको जवाफ अब प्रहरी स्वंमले दिनुपर्छ । आफुमाथि लागेको आरोप र त्यसलाई पुष्टी गर्ने भिडियो सार्वजनिक भए पछि अब कुनै अमुक व्यक्तीलाई फसाएर दोष थुपार्ने प्रयासमा भएमा प्रहरी आफै फस्ने निश्चीत रहेको छ ।