ढल निकास नहुदा गौरवासी फोहरमा बस्न बाध्य (फोटो फिचर)

   ३ भाद्र २०७८, बिहीबार १३:५२  

३ भदौ, रौतहट । समुचित ढल निकासको व्यवस्था हुन नसक्दा रौतहट सदरमुकाम गौरका अधिकांश सडकहरुमा पानी जमेको छ ।

केही क्षणमात्रै पनि वर्षा हुदा गौरको मुख्य सडकमा दुई फिट भन्दा बढी पानी जम्ने गर्दछ । मुख्य सडकको पानी केही घण्टा पछि बगेर गए पनि बस्ती, टोल जोडने सहायक सडकहरुमा महिनौ सम्म पानी जमेर दुर्घन्धीत हुदा स्थानिय पीडित बनेका छन ।

गौर नगरपालिकाको कार्यालय हुदै कृषि विकास बैंक जाने सडक, अदालत पछाडी बाट नेपाल बैंक जाने तथा नगरपालिका तर्फ जाने सडक, नगरपालिका पछाडी बजारबाट कृष्णमन्दीर जाने सडक, राइसमिलको पछाडी पश्चीम तर्फ हाइस्कूलको मूल सडकलाई जोडने सहायक दुई सडक, गौरको गुदरी बजार देखी सिनेमा हल तर्फ जाने सडक लगायत अलग अलग वडा बस्तीका दर्जनौं सडक पानीमा डुबेको महिनौं हुदा पनि जनप्रतिनिधिहरुले कुनै वास्ता गरेका छैनन ।

गौर ५ रहेको पोखरी आसपासका बासिन्दा दुई महिना भन्दा बढी समय देखी जमेको पानीका कारण पीडित बनेका छन । “वडाअध्यक्ष, मेयरलाई जति पटक भने पनि उनीहरुले वास्ता गरेका छैनन ।” स्थानिय प्रमिला भट्टराइले भनिन “पोखरी भरिएर र नालाको पानी समेत घरको दैलो सम्म आएको छ । हिडने बाटो छैन ।” लामो समयसम्म पानी जमेर प्रदुषित बन्दा दुर्घन्धले थप समस्या उत्पन्न गरेको, फोहर पानीका कारण खुट्टा चिलाउने, लामखुट्टेको प्रकोप बढेको लगायतका समस्या भएको उनले बताइन ।

ढल निकासमा जनप्रनिधिहरुले ध्यान नदिदा नगरपालिका भरी रहेका सडकहरुको अवश्था दयनीय रहेको छ । रौतहटको सबैभन्दा जेठो नगरपालिकामा पूर्वाधार विकासका कामहरु हुन सकेको छैन । जनप्रतिनिधि निर्वाचित भएको ४ वर्ष बितिसक्दा पनि सघन सहरीले बनाएको बाटोहरु बाहेक गौरमा अन्य देखिने विकास कतै नभएको स्थानियको आरोप छ ।

“नगरपालिकाको कार्यालय आफै तिन तिरबाट जमेको पानीले घेरिएको छ । अन्य ठाँउको हालत झन के हुन्छ ?” स्थानिय संचारकर्मी समेत रहेका रमेश सिंहले भने “दिगो विकासको सोच नभएको जनप्रतिनिधिले गर्दा गौरवासीले दुख पाउनु परेको छ ।” आफै उतर, दक्षिण र पूर्व तिनै तर्फबाट फोहर पानीले घेरिएको नगरपालिकाले स्थानियको घरदैलोको समस्या कसरी समाधान गर्छ भन्ने प्रश्न तेर्सिएको उनी बताउछन ।

सडक भन्दा माथिको लेभलमा निर्माण गरिएको ढलको कारण गौर ४ टिकुलियामा स्थानियलाई आवतजावत गर्न समेत समस्या छ ।

सबै तस्वीरहरु : प्रेम यादव