आज बस्ने नेकपा स्थायी कमिटीको बैठक स्थगित
साउन १३, रौतहट । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक फेरी स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने पार्टी स्थायी कमिटीको बैठक तय भएको थियो ।
तर, पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।
नेकपामा देखिएको आन्तरिक विवाद झन पेचिलो बन्दै गइरहेको छ । आज बस्ने स्थायी कमिटीको बैठकबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुनै छलफल भएको थिए । दुई अध्यक्षबीच छलफल भएपछि मात्र स्थायी कमिटीको बैठक बस्ने सहमति भएको छ । तर अहिलेसम्म अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन ।