बारा र पर्सामा झन फैलिदै कोरोना, चिकित्सक सहित १५ संक्रमति

   १३ श्रावण २०७७, मंगलवार ०९:०१  

१३ साउन, रौतहट । गए राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्सा र बाराका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति भएको परिक्षणमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो जसमध्ये २ जना चिकित्सक समेत रहेका छन
संक्रमण पुष्टी भएकाहरु अधिकांश वीरगञ्जका छन् । उनीहरुमध्ये केहीमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण पनि देखिएको अस्पतालले जनाएको छ ।

सोमवार राति नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्वाब परिक्षण भएका मध्ये वीरगञ्ज–११ श्रीपुरका २६ वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी आफ्नै बुवाको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यस्तै श्रीपुरकै ४५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका दुवै जना शंकास्पद संक्रमितको रुपमा वीरगञ्जस्थित कोरोना अस्पतालमै रहेका थिए ।

यसै गरी वीरगञ्ज–४ विर्ताका ४० वर्षीय चिकित्सकमा समेत कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालमा कार्यरत उनलाई ५ दिनदेखि ज्वरो आइरहेको थियो । नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय अर्का कर्मचारीलाई पनि कोरोना देखिएको छ ।
आइसोलेसन बेडको अभावमा यसअघि नै पर्सामा ४२ जना संक्रमितलाई आइसोलेसनमा ल्याउन नसकेको अवस्था छ । उनीहरु घरमै आइसोलेटेड छन् तर होम आइसोलेसन सम्बन्धी कार्यविधि पालना भए नभएको कसैले पनि अनुगमन गरेका छैनन्

ज्वरो र खोकी लागेपछि शंका लागेर उनीहरुले पीसीआर परीक्षण गराएका थिए । पेड पीसीआर गराएका वीरगञ्ज–७ लोहरपट्टीका ५५ वर्षीया, वीरगञ्ज–१३ रानीघाटका ३४ वर्षीय, वीरगञ्ज–७ रामटोलका ३३ वर्षीय र वीरगञ्ज–१३ राधेमाईका २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको नारायणी ल्याब स्रोतले जनाएको छ ।

जगदम्बा इन्टर प्राइजेजमा कार्यरत ४८ वर्षीय, ५६ वर्षीय र २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । गत साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय पुरुषमा कोरोना संक्रण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयुमा कक्षमा छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका २३ वर्षीय र बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४१ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

भारतको बैंगलोरबाट आएका वीरगञ्ज–२३ सबैठवाका २६ वर्षीय पुरुष र ईलाम घर भई पर्साको ठोरीस्थित सरस्वती मावि क्वारेन्टिनमा बस्दै आएका ५६ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । उनी पनि भारतबाट आएका व्यक्ति हुन् ।

वीरगञ्जको कोरोना अस्पतालमा १० जना महिलासहित ५७ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये चार जना आईसीयुमा छन् ।