प्रदेश २ का आठ जिल्लामा ९ वटामात्रै भेन्टिलेटर, १३ जनाको मृत्यु भयो

   १२ श्रावण २०७७, सोमबार १७:३९  

साउन १२, रौतहट । सास फेर्न गाह्रो भएपछि शनिबार जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ वर्षका युवकको आइतबार मृत्यु भयो ।

चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखे पनि प्रादेशिक अस्पतालमा भएको २ वटा भेन्टिलेटर खाली नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरियो ।

तर धरान नपुग्दै बाटोमै उनको मृत्यु भयो । गत वैशाखदेखि नै प्रदेश २ मा कोरोना संक्रमितको चाप बढेको छ, कोरोनाकै कारण १३ जनाको मृत्यु भइसकेको छ ।

आइतबारसम्म सबैभन्दा बढी पर्सामा ६ जना, बारा र रौतहटमा २र२ जना तथा महोत्तरी, धनुषा र सप्तरीमा १र१ जनाको कोरोना संक्रमण भएर मृत्यु भएको छ ।

आठ जिल्लामा नौ वटा भेन्टिलेटर

कोरोना संक्रमण भएका गम्भीर अवस्थाका बिरामीको उपचारका लागि भेन्टिलेटर र आईसीयू आवश्यक पर्छ । प्रदेश २ का आठ जिल्लामध्ये तीन जिल्लाको सरकारी अस्पतालमा मात्रै भेन्टिलेटर छ । वीरगञ्ज र जनकपुरका सरकारी अस्पतालमा मात्र आईसीयू छ ।

सबैभन्दा बढी ४ वटा भेन्टिलेटर सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ । तर, यहाँ आईसीयू छैन । ‘आईसीयू नभएपछि भेन्टिलेटरको अर्थ पनि छैन’ प्रदेश स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा भन्छन्, ‘आईसीयू र भेन्टिलेटर दुबै एकसाथ भए मात्र अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिन्छ ।’

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा २ वटा मात्रै भेन्टिलेटर छ । प्रादेशिक अस्पतालको आईसीयूमा जडान गरिएको भेन्टिलेटर सधैं प्याक हुन्छ । सहनिर्देशक झा यहाँ कम्तीमा ५ वटा भेन्टिलेटर चाहिने बताउँछन् ।

त्यसबाहेक पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा ३ वटा भेन्टिलेटर छ । सहनिर्देशक झाका अनुसार निजी क्षेत्रको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा २५ वटा र जनकपुरधामस्थित जानकी मेडिकल कलेजमा ५ वटा भेन्टिलेटर छ ।

‘निजी क्षेत्रको अन्य अस्पतालमा पनि यो होला’ उनी भन्छन्, ‘तर सरकारी अस्पतालमा कम्तीमा ५० वटा भेन्टिलेटरको आवश्यकता छ । ’

प्रदेश सरकारको निर्णय कार्यान्वयन भएन

प्रदेश २ को मन्त्रिपरिषदको ८ वैशाखमा बसेको बैठकले ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरी बजेट पनि निकासा गर्‍यो । प्रदेश सरकारले बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरी गरी ६ जिल्लालाई ५र५ वटा र जनकपुरधाम तथा वीरगञ्जलाई १०र१० वटा उपलब्ध गराउने बताएको थियो ।

तर यो निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन । ११ असारमा सामाजिक विकास मन्त्रालयले ३० वटा भेन्टिलेटर खरिदका लागि टेण्डर आह्वान गरेको छ ।
सामाजिक विकास मन्त्री नवलकिशोर साहले टेण्डर आह्वान गरिए पनि दरखास्त नपरेकाले अरिख गर्न नसकिएको बताए । पुनः टेण्डर आह्वान गर्न लागिएको उनले जानकारी दिए ।