सर्लाहीमा हार्डवेयर पसलमा आगलागी हुँदा लाखौँको क्षति
२६ साउन, रौतहट । सर्लाहीमा रहेको एक हार्डवेयर पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १ चौलिखा बजारस्थित रहेको सञ्जय हार्डवेयर पसलमा सोमबार गएराति करिब १ बजेतिर आगलागी हुँदा करिब ४० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय संजय साहले सञ्चालन गरेको हार्डवेयर पसलमा हिजो गएराति भएको आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
प्रहरी, बारुण यन्त्र र स्थानीय वासीहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तर, पसलमा कसरी आगलागी भएको हो, भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






