पर्सामा ७ स्वास्थ्यकर्मीसहित थप १९ जनामा कोरोना पुष्टि

   १२ श्रावण २०७७, सोमबार ११:३३  

साउन १२, रौतहट । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्धसहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगञ्ज–१० आदर्शनगर पुरानो बसपार्कका मृत्क ६५ वर्षीय वृद्धसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वृद्धको उपचारको क्रममा गण्डक अस्पतालमा आइतबार बिहान मृत्यु भएको थियो ।

अन्य संक्रमितमा अस्पतालका कर्मचारी, क्वारेन्टिनमा बसेकाहरु, कन्ट्याक्ट ट्रेसिङमा परेका र पेड पीसीआर गराएका व्यक्तिहरु छन । वीरगञ्ज– ६ माईस्थान २ नं रोडका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन ८ गते ज्यान गुमाएका ७० वर्षीय वृद्धको कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहको सोही दिन पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

त्यसैगरी गण्डक अस्पतालका ३४ वर्षीय कर्मचारी र नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षीय कर्मचारी र वीरगञ्ज–१६ मिथिला नगर घर भई एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय पुरुषमा कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ ।