रौतहटको श्रीराम सुगर मिल बन्द
रौतहट, ११ साउन ।
रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स बन्द भएको छ । झण्डै दुई दशक अघि रौतहटका मध्य बजारमा स्थापना भएको रौतहटको पहिलो ठूलो उद्योग बन्द हुने भएको हो ।
गोल्छा समुहले एक सूचना जारी गर्दै मह्मदपुर गरुडामा रहेको सो चिनि मिल बाध्यात्मक परिस्थीतीका कारण स्थायी रुपमा बन्द हुने जनाएको छ । मिल स्थापना भएको केही वर्ष सम्म मुनाफामा चलेको सँस्था पछिल्लो समयमा किसानलाई भुक्तानी गर्न नसक्ने अवश्थामा पुगेको छ । विविध कारणले किसानको उँखुको रकम समेत भुक्तानी गर्न नसकेको भन्दै मिलले वार्षिक करोडौ रुपैयो नोक्सानी बेहोर्नु परेको सूचना मार्फत जनाएको छ ।
हरेक वर्ष नोक्सानीमा गइरहेको कम्पनीको आर्थिक वर्ष ७५।६६ सम्ममा कुल घाटा २ अरब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैया पुगेको श्रीराम सुगर मिल्सले जनाएको छ । यस आर्थिक वर्षमा मिलले १३ दिन मात्रै उखु क्रसिंङ्ग गरेको थियो । मिलले यस वर्ष कार्यरत कर्मचारीको चार महिना देखीको तलब तथा संचयकोषको रकम समेत दिन सकेको छैन । नगदे बालीको रुपमा रहेको उँखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ३२ करोड रुपैंया भुक्तानी दिन बाँकी रहेको उँखु उत्पादक सँघले जनाएको छ । यसै गरी अवकाश प्राप्त कर्मचारीहरुको ७० लाख भन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको छ ।
आइतवार बाट उद्योग बन्द भएको जानकारी गराउदै मिलले तिर्नु पर्ने कर्मचारीहरुको सबै किसिमको तलब भता क्रमश भुक्तानी गर्दै जाने जनाएको छ । उँखु किसानहरुको बाँकी रकम भुक्तानीका लागी मिलको चल अचल सम्पती विक्री गर्न नेपाल सरकारसँग आवश्यक अनुमतिको प्रक्रिया शुरु गरेको मिलले जनाएको छ । सम्बन्धीत निकायबाट आवश्यक अनुमति प्राप्त हुनासाथ उद्योगको सम्पती विक्री गरेर कार्यरत श्रमिक, कर्मचारी तथा उँखु किसानहरुलाई प्राथमिकताका साथ भुक्तानी दिदै जाने मिलले जनाएको छ ।
मिलले जारी गरेको सूचनामा दुई दशक भन्दा बढी समय देखि संचालमा रहेको उद्योग बन्द गर्नु पर्दा दुख लागेको र बाध्यात्मक परिस्थीतीका कारण उद्योग संचालन गर्न नसकेर बन्द गर्नु परेको जनाएको छ ।