वीरगञ्जमा आरडिटी पोजेटिभ एक वृद्धको मृत्यु
साउन ११, रौतहट । वीरगञ्ज गण्डक अस्थायी कोरोना अस्पतालमा आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ ।
कोभिड अस्पताल वीरगञ्जमा मुटु र मधुमेय रोगले ग्रसित महानगरपाखिका वडा नं. १० आदर्शनगरका बस्ने अन्दाजी ६५ वर्षीय भारतीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । उनलाई केही दिनदेखि मुटु र मधुमेह रोगका कारण स्वास्थ्यमा समस्या देखिएको थियो ।
उनलाई शनिबार नारायाणी अस्पतालमा कोरोना भाईरस परीक्षण गर्न लगिएको थियो । नारायणीमा स्वाब दिएपछि उनलाई उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो ।
हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि शनिबार राति नै ८ बजेतिर गण्डक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा राति ११ बजेतिर स्थिति गम्भिर भएपछि, भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचार गर्दागर्दै आइतबार बिहान ६ः४० बजे उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिएका हुन् । तर, अहिले उनको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।
उनी वीरगञ्जको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए । कारोना रोगको संक्रमण बढ्न थालेपछि शनिबारदेखि वीरगञ्जमा निषेधाज्ञा लागु गरिएको छ । गण्डक कोभिड अस्पतालमा ५३ जनालाई भर्ना गरेर उपचार भइरहेको छ ।