आज नाग पञ्चमी, नागको पूजा गरी नागप्रति श्रद्धा व्यक्त गर्ने दिन

   १० श्रावण २०७७, शनिबार १२:३९  

साउन १०, रौतहट । आज साउन शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाइँदैछ । परम्पराअनुसार हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ ।

साथै, नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न साउनको शुक्ल पञ्चमीका दिन नाग पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन ।

आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ ।

वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।