पर्सामा थप ९ जनामा कोरोना संक्रमित थपिएसंगै; के खुल्ने र के नखुल्ने
साउन १०, रौतहट । पर्सामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
शुक्रबार साँझ मृत्यु भए पश्चात १७ वर्षिय युवतिसहित थप ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रखुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जनाएका छन् । कोरोना संक्रमित हुनेहरुमा एक जना संक्रमित रौतहटका पनि रहेका छन् ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको साउन ८ गते स्वाव संकलन गरिएको थियो । संक्रमित ५ देखि ५२ वर्षका रहेका छन । त्यस्तै कोरोना भाईरसका माहामारी समुदायमा फैल्न नदिनका लागी वीरगञ्जमा शनिबारबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरमा मात्र निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बीरगन्ज महानगरपालिका क्षेत्रभित्र अर्को सूचना जारी नभईन्जेलसम्मका निषेधाज्ञा लागु हुने छ । निषेधाज्ञा अवधिभर अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्देशन जारी गरेको छ ।
तर, शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, आइसीपी, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा मात्र खुल्ला रहनेछन । साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन मात्र चल्नेछन ।
अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन र सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा बन्द रहनेछन ।
बैठकले निर्णयको अवज्ञा, अवलोहलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरिने निर्णय गरेको छ । यसैगरी, कुनै उद्योग, प्रतिष्ठान एवं निजी घरहरुमा बस्ने व्यक्तिहरु कसैमा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा त्यस्ता उद्योग, प्रतिष्ठान एवं घरहरु सिल गरी स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिसको आधारमा प्रत्यक्ष निगरानीमा होम क्वारेन्टिनमा राखिने जनाइएको छ । साथै, लक्षण नदेखिएका व्यक्तिहरुलाई घरमै आइसोलेसनमा बस्ने सुविधा दिने निर्णय भएको उनले बताए ।
वीरगञ्जमा शुक्रबार र बिहीबार गरी कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । यस्तै, हाल नारायणी अस्पताल, गण्डक कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितहरुमध्ये धेरै लक्षणसहितका रहेको सहायक प्रजिअ बस्नेतले बताए । संक्रमितहरुमध्ये हाल जटिल प्रकृतिका ४ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ भने पर्सामा कोरोना भाईरसका कारण मुत्यु हुने संख्या ४ पुगेको सहायक प्रजिअ बस्नेतले बताए ।