नहरमा मृत भेटिएका सशस्त्र प्रहरी जवानको हत्या आशंका, तीनजना पक्राउ
२०७७ श्रावन ८
जनकपुरधाम । सिरहाको खिरौनास्थित नहरमा मृत फेला परेका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
महोत्तरीको सोनमा गाउँपालिका–३ घर भएका यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–३ मखनाहाका २५ बर्षीय जयकेशकुमार यादव, २० बर्षीय मंगला भनिने दिपेशकुमार यादव र २२ वर्षीय बुलना भनिने मुकेशकुमार यादव रहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।
पक्राउ परेकाहरुलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको डीआईजी सिंहले जानकारी दिए ।
सिरहा नगरपालिका १७ स्थित सशस्त्र प्रहरी नेपाल बोर्डर आउटपोष्ट माडरमा कार्यरत यादव गत असार १६ गते नहरमा मृत फेला परेका थिए ।
चोर भन्दै लखेटेर यादवकाे हत्या !
गत असार १५ गते सिरहा नगरपालिका ३ मखनाहा निवासी बिन्दी यादवको छोरीको विवाह थियो ।
विवाह उत्सवमा भएको सामान्य विवादको क्रममा पक्राउ परेकासहितका व्यक्तिले ‘चोर चोर…’ भन्दै मनोहरलाई लखेटेका थिए । लखेटेरै नहर नजिक ल्याएर कर्तव्य गरी मारेको देखिएको डीआईजी सिंहले बताए ।
‘उनलाई सोही नहरमा डुबाएर मारेको देखियो’ सिंहले भने, ‘अन्य अनुसन्धान भइरहेको छ ।’