नेपालले खेल्ने त्रिकाेणात्मक सिरिज स्पेनमा हुने

   २३ जेष्ठ २०७८, आईतवार १५:४३  

२३ जेठ, राैतहट । नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने भएको छ ।

नेपाल, स्कटल्यान्ड र नामिबियाबीच खेलिने याे स्पेनमा खेलिने नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जनाएका छन । आईसीसीको आधिकारिक पत्र आउनेबित्तिकै सिरिज पक्का हुने उनले बताए ।

जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको हो । सिरिजका विषयमा स्पेनको लोकल गभर्मेन्टले पनि स्वीकृति दिइसकेको सचिव प्याकुरेलले बताए ।

“स्पेनमा सिरिज गर्नका लागि धेरै आन्तरिक कुरा सकिसकेको छ । हामी केही कुराको छलफल अझै गरिरहेका छौँ । सिरिज स्पेनमा हुने पक्का नै छ । तर, आईसीसीको आधिकारीक पत्र कुर्न बाँकी छ,” सचिव प्याकुरेलले बताए ।

लिगअन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपाल ४ खेलबाट ४ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ । ओमान १० खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलाबट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।