औषधि कालोबजारी गरेको आरोपमा विराटनगरबाट एकजना पक्राउ

   १७ जेष्ठ २०७८, सोमबार १४:२२  

१७ जेठ, रौतहट । विराटनगरबाट औषधी कालोबजारी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका १५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक ३५ वर्षीय रवि कुमार रजकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

रजकले आफ्नै घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घर तलासी गर्दा फिजिसियन स्याम्पलका औषधि, पेनकिलर, एन्टिबाईटिक, मुटु सम्बन्धी औषधि, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधि र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधिको खोलहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

कालोबजार र अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम पक्राउ परेका रजकमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।