इराकसँग भएकाे मैत्रीपूर्ण खेलमा नेपाल पराजित
१६ जेठ, राैतहट । इराकसँग भएकाे मैत्रीपूर्ण खेलमा नेपाल ६-२ ले पराजित भएको छ ।
गए राती इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४-२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो ।
नेपालका लागि मनिष डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै डेब्यु गोल गरेका थिए । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका थिए ।
२९औं मिनेटमा मनिस डाँगीले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए । मनिसले यही खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका हुन् र उनले डेब्यु खेलमै गोल गरेका हुन् । ३९औं मिनेटमा मोहम्मद अब्दुलजाहराले इराकका लागि बराबरी गोल फर्काए । लगत्तै अर्को मिनेटमा अयेन हुसेनले गोल गर्दै इराकलाई ३-२ को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी टाइममा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४-२ को अग्रता दिलाए । पहिलो हाफमा गोलको वर्षा हुँदा ६ गोल भएको थियो । तर दोस्रो हाफमा २ गोल मात्र भयो ।
६७औ मिनेटमा मोहम्मेद रिदा एल एलायमीले गोल गर्दै इराकलाई ५-२ को अग्रता दिलाए । ७५औं मिनेटमा सजाद जसमी अलसाराफीले गोल गर्दै इराकलाई ६-२ को अग्रता दिलाए ।
खेलमा नेपालका गोलकिपर कप्तान किरण चेम्जोङले केही राम्रा बचाउ समेत गरेका थिए । नेपाली टोली अब विश्वकप छनोटका बाँकी ३ खेल खेल्न कुवेत जानेछ ।






