भारी वर्षाका कारण बाढीको सम्भावना

   ५ श्रावण २०७७, सोमबार १३:३३  

साउन ५, रौतहट । आइतबारदेखी अविरल वर्षा शुरु भए पछि रौतहटका नदीहरुमा जलस्तर वृद्धि भएको छ ।

रौतहटका दुई प्रमुख नदी बाग्मती र लालबकैया सँगै अन्य सहायक नदीहरुमा पनी जलस्तर वृद्धि भएको हो । बाढी पूर्वानुमान महाशाखाले वाग्मती र लालबकैया लगायतका अन्य स–साना नदीहरुमा पानीको बहाव बढने सम्भावना रहेको जनाएको छ ।

प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भएको र अझै थप वर्षा समेत हुन सक्ने र मुलुकका अधिकांश भू भागमा समेत भारी वर्षा भई नदीहरुमा पानीका बहाव बढने जल तथा मौसम बिज्ञान विभाग (बाढी पूर्वानुमान महाशाखा) ले जनाएको छ ।


पूर्वतयारीलाई प्राथमिकता दिनका लागी स्थिति सामान्य नहुन्जेलसम्म नदी तटीय क्षेत्रमा कुनै निमार्ण कार्य नगर्न, नदी किनारमा नजान, र आवश्यक सतर्कता कायम गर्नका लागी नदी किनारका बासिन्दा सर्तक रहन जिल्ला प्रशासन कार्यालय रौतहटले सबैलाई आग्रह गरेको छ।

भारी वर्षाका कारण पानीको बहाव सर्तकता आसपास हुन गई आकस्मीक रुपमा बाढी आउन सक्ने जोखिम रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।