अविरल वर्षाका कारण मलङ्गवाका सरकारी कार्यालयहरु डुबानमा
साउन ५, रौतहट । साउन ४ गते आइतबार बिहान देखी भइरहेको अविरल वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवनहरुका सथै दर्जनौँ निजी घरहरु वपनि डुवानमा परेको छ ।
सदरमुकाम मलङ्गवाको नगरपालिका चौक, बाल मन्दिर, बसपार्कलगायतका क्षेत्र जलमग्न भई डुबानमा परेको स्थानीय व्यापारीहरुले बताएका छन् ।
जिल्लाको लखन्देह, वाग्मती, फुलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका नदी तथा खोलाहरुमा निरन्तर भईरहेको वर्षाका कारण पानीको बहाव बढेको छ । पानीको बहाव बढेसंगै खोलाले केही ठाउैमा खेतीयोग्य जमीन कटानसमेत शुरु गरेको जिल्लाका किसानहरुले बताएका छन । आईतबारकै तुलनामा पानी परिरहे भने डुबानको समस्या बढ्न सक्ने सम्भावना रहेको तर अहिले गहिरो स्थान र निकास नभएका ठाउँहरुमा पानी जमे पनि जनधनको कुनै क्षति कतै नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताएका हुन् ।
त्यस्तै जिल्लाको पूर्व, पश्चिम र अनय भित्री सडकसमेतमा वर्षाका पानीले हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ । आईतबार बिहानदेखी अविरल वर्षाले सवारी आवतजावत समेत प्रभावित भएको कारण मनुसन सक्रिय भएसम्म नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकहरुलाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।