साहित्यकार ‘लाटो साथी’को निधन
साउन ३, रौतहट । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा डा विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ ।
विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए ।
संस्कृत, नेपाली र अवधि भाषामा सशक्त कलम चलाउने डा आत्रेयका ‘हनुमदयन’ र ‘वैदेही’ महाकाव्य, ‘ढाक्रे’, ‘कपिलवस्तु’ लगायत खण्डकाव्य, ‘हामीभित्रका म’, ‘सोमतीर्थ’, ‘सुपा देउराली’, ‘कपिलधाम’, ‘शान्ताकुञ्ज’, ‘पाणिनी’, उपन्यासलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
संस्कृत भाषामा लेखिएको ‘हनुमदयन’ महाकाव्यका लागि उनले वि सं २०७५ को जयतु संस्कृतम् पुरस्कार प्राप्त गरेका जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेलले जानकारी दिए ।
‘कपिलधाम’ उपन्यासमा बुद्ध जन्मस्थल लुम्बिनी एवं कपिलवस्तुको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका साथै ऋषि कपिलका विषयमा पनि प्रकाश पारेको भूमिका लेखक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए ।