आज मे २ , राष्ट्रिय आईसीटी दिवस मनाइँदै
१९ वैशाख, रौतहट । आज मे २ अर्थात राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवस रहेकाे छ । आजको यो दिनलाई नेपाल सरकार तथा प्रविधि क्षेत्रले विशेष रुपले मनाउने गरेका छन् ।
कोरोना महमारीका कारण गत वर्ष झै यस वर्ष पनि आईसीटी दिवस अनलाइनमै सीमित हुने भएको छ । यद्यपी यस वर्षको भर्चुअल कार्यक्रम विशेष हुनेछ ।
‘समृद्ध नेपालको आधार, सुचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका साथ यस वर्षको राष्ट्रिय आईसीटी दिवस मनाइने छ । यसै सँग सरकारले नागरिक एकको फुल भर्सन सार्वजनिक गर्ने कार्यक्रम समेत रहेको छ ।
बिहान ११ बजेदेखि भर्चुअल रुपमा सुरु भएको विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम रहेको अधिकारीहरुले जनाएका छन् ।
यस अघि सञ्चार तथा सूचना प्रविधिका मन्त्री पार्वत गुरुङले परीक्षणको रुपमा नागरिक एपको बेटाभर्सन सार्वजनिक गरेका थिए । बेटाभर्सनमै एपबाटै स्थायी लेखा नम्बर (प्यान) लिन सकिने सेवा रहेकोमा पछिल्लो समय पुलिस क्लियरेन्स रिपोट समेत लिन सकिने बनाइएको छ ।
यसका साथै एममा नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष र प्यानको विवरण हेर्न सकिने सुविधा पनि छ । त्यसै गरी पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रम समेत नागरिक एपमा जोडिएको छ ।
सुरुमा नेपाल टेलिकम र एनसेलको नम्बरबाट मात्र नागरिक एपमा खाता खोल्न सकिने अवस्था रहेकोमा पछिल्लो समय स्मार्ट टेलिकमको नम्बर समेत नागरिक एपमा जोडिएका छन् ।






