गोदाममा छापा मार्ने क्रममा पेस्तोल र गोली भेटियो

   १३ बैशाख २०७८, सोमबार ११:४९  

१३ बैशाख, रौतहट । विराटनगरका राजकुमार रौनियारले सञ्चालन गरेको गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले पेस्तोल र गोली बरामद गरेको छ ।

तस्करीको कपडा र हार्डवेयरका सामग्री लुकाएको आशंकामा राजस्व अनुसन्धान र प्रहरीको टोली आइतबार साँझ विराटनगर ७ धाडेवा रोडमा रहेको गोदाममा छापा मार्न पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार गोदाममा छापा मार्ने क्रममा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली समेत बरामद भएको छ ।

छापा मार्ने क्रममा पेस्तोल र गोली फेला परेपछि गोदामका कामदार इटहरी उपमहानगरपालिका वडा नम्बर १७ घर भई हाल विराटनगर बस्दै आएका २४ वर्षीय सुजितकुमार साहलाई नियनत्रणमा लिएको प्रहरीले जानकारी दिए ।

पक्राउ परेका साहलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाए ।