त्रिदेशीय कपकाे उपाधि नेपाललाई

   ११ बैशाख २०७८, शनिबार २१:१२  

११ वैशाख, राैतहट । नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिदेशीय टी २० सिरिजको उपाधि जितेको छ । शनिबार भएकाे त्रिकाेणात्मक खेलकाे फाइनलमा नेपालले शानदार जित निकालेकाे छ ।

कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङकाे मद्दतमा नेपालले २३८ रनकाे लक्ष्य खडा गरेको थियो । जवाफि ब्याटिङ्गमा उत्रेका नेदरल्याण्ड्सले १७.२ ओभरमै सबै विकेट गुमाउदै ९६ रन मात्र बनाउन सफल भएका थिए ।

ब्याटिङ्ग र बलिङ् दुवैमा कुशल रहेकाे नेपालले अन्तराष्ट्रिय जगतमा आफ्नाे पहिचान बनाएकाे छ ।

नेदरल्याण्ड्सलाई १४२ रनले हराएकाे नेपालकाे याे कीर्तिमान जित हाे । यसअघि नेपालले १३औं सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो ।

घरेलु मैदानमा ११ वर्षपछि नेपालले पहिलो उपाधि जितेको हो । यसअघि टियु मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन ५ को उपाधि जितेको थियो ।