नक्कली कोरोना रिपोर्ट बनाउँने गिरोह पक्राउ

   ८ बैशाख २०७८, बुधबार ११:५९  

८ बैशाख, रौतहट । पीसीआर परीक्षणका लागि मानिसको स्वाब सङ्कलन नगरी नै कोरोना रिपोर्ट नेगेटिभ बनाउँने कार्यमा एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पीसीआर परीक्षण नगरी नै कोरोना रिपोर्ट नेगेटिभ आएको नक्कली रिपोर्ट तयार गरेको आरोपमा झापा गौरादह घर भई हाल पेप्सीकोला बस्ने ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी अमनकुमार यादव, महोत्तरीका बादल मिरिङ थिङ, मोरङ विराटनगरका वजेश पोख्रेल, दोलखा वैतेश्वरी घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री र सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा. सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर उक्त नक्कली कार्य गरी पैसा असुल्ने गरेको खुल्न आएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी नक्कली रिपोर्ट तयार गरेको खुलेकाले उनीहरुसहित आठ जनालाई नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

गोप्य सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ नै काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिबाट जारी भएका स्वाब सङ्कलन तथा परीक्षण नै नगरी ‘पिसिआर टेष्ट नेगेटिभ’ भनी उल्लेख भएका चार थान नक्कली परीक्षण रिपोर्टसहित उनीहरुलाई पक्राउ गरेको हो ।

त्यहाँबाट रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिइएको र थप बारे थप अनुसन्धान सुरु भएको छ, भने सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गराइएको महाशाखाले जनाएको छ ।