लम्जुङमा क्वारेन्टिनमा बसेका युवकले गरे आत्महत्या

   २ श्रावण २०७७, शुक्रबार ०९:५१  

साउन २, रौतहट । लमजुङका क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । क्व्होलासोथार गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी असार ३१ गतेदेखि वडा नम्बर ९ स्थित बुद्धोदय माविको क्वारेन्टिनमा बस्दै आएका थिए । फागुनमै बुटवलस्थित दिदीको घर गएका उनी असार ३१ गते आएर क्वारेन्टिनमा बसेको साल्मे भञ्ज्याङ स्वास्थ्यचौकीका इन्चार्ज सन्तोषबाबु सुवेदीले बताए ।

‘क्वारेन्टिनमा उनी एक्लै बस्दै आएका थिए । बेलाबेलामा उनको स्वस्थ्य अवस्थाबारे जानकारी लिन हामी जान्थ्यौं । उनको स्वास्थ्य अवस्था सबै सामान्य नै थियो,’ सुवेदीले भने, ‘तर शुक्रबार बिहान उनी क्वारेन्टिनको भान्सा कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो।’

क्वारेन्टिनमा बस्दा उनी आफैंले पकाएर खाने गरेको उनले बताए । सुवेदीले भने, ‘वडा कार्यालयले उनको लागि पकाउने र खानेको व्यवस्थापन मिलाएको थियो । क्वारेन्टिनमा बस्दा उनले हामीसँग कुनै गुनासो पनि गरेका थिएनन् ।’

लम्जुङका प्रहरी नायव उपरीक्षक गंगाबहादु थापाका अनुसार क्वारेन्टिनमा एक्लै बसेका युवकले झुन्डिएर आत्महत्या गरेको बताए । ‘फागुन अन्तिमतिर उनी विदेश जाने भन्दै बुटवलस्थित दिदीको घर गएका रहेछन् । तर लकडाउनका कारण विदेश जान नपाएपछि उनी बुटवबाट असार १९ गते पोखरामा रहेको भाउजुको घरमा आएर बसेका रहेछन्,’ थापाले भने, ‘त्यहाँबाट उनी असार ३१ गते गाउँ गएका रहेछन् । तर जिल्ला बाहिरबाट आएकालाई पनि क्वारेन्टिनमा राख्ने नियम अनुसार उनलाई क्वारेन्टिनमा राखिएको थियो ।’ शवको पोष्टमार्टम गर्न अनुकुल हेरेर बेंसीसहर अथवा दमौली लगिने उनले बताए ।

क्व्होलासोथार गाउँपालिका–९ का वडाध्यक्ष नन्दजंग गुरुङका अनुसार क्वारेन्टिनमा बसेका युवकले आफूहरुलाई कुनै गुनासो नगरेको बताए । उनले भने, ‘हामीले उहाँका लागि खाना र बस्नको लागि राम्रै व्यवस्थापन गरेका थियौं । तर झुल उपलब्ध गराउन आग्रह गरेका थिए । त्यो पनि छिट्टै उपलब्ध गराउने भनेका थियौं ।’

गुरुङले भने, ‘घटना स्थलमा प्रहरी, स्वास्थ्यकर्मी तथा मृतक युवकको परिवार आउँदै गरेको जानकारी हामीले पाएका छौं । पीसीआर परीक्षणको लागि उनको स्वाब समेत संकलन गरिने छ ।’