सर्लाहीमा विद्युत सर्ट भएर आगलागी हुँदा लाखौँको क्षति

   ११ चैत्र २०७७, बुधबार ११:१८  

११ चैत, रौतहट । सर्लाहीमा विद्युत सर्ट भएर आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर ९ ब्रहमस्थान बस्ने राजकुमार महतोको घरमा विद्युत सर्ट भएर मंगलबार गएराति भएको आगलागीमा घर र घरभित्र रहेको सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमा राखिएको नगद ३ लाख ५० हजारसहित सम्पूर्ण सामान जलेको हो । विद्युत सर्टबाट भएको सोही आगोले राजकुमारका छिमेकी जोगि महतोको घरको काठको बरण्डामा राखिएको ५० हजार बराबरको कपडा समेत जलेर नष्ट भएको प्रहरीले जानकारी दिए ।

उक्त आगोलाई स्थानीयवासी र प्रहरी मिलेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त आगलागीमा करिब ९ लाख ५० हजार बराबरको क्षति भएको सर्लाही प्रहरीका प्रक्ता मदन कुँवरले जानकारी दिएका छन् ।