त्रिदेशीय फुटबल प्रतियोगिताको विजेताले ५ हजार डलर पाउने
५ चैत, रौतहट । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको त्रिदेशीय फुटबल प्रतियोगिताको विजेताले ५ हजार डलर पाउने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै पुरस्कार रकमबारे जनाकारी गराएको हो । प्रतियोगिताको उप विजेताले ३ हजार, सर्वोकृष्ट खेलाडीले ५ सय डलर र प्रत्येक खेलका ‘म्यान आफ द म्याच’ले २५० अमेरिकी डलर प्राप्त गर्ने छन् ।
प्रतियोगितामा नेपाल सहित बंगलादेश र कीर्गिस्तानको यु–२३ टिमको सहभागिता रहने छ । मार्च २३(चैत १०) मा बंगलादेश र कीर्गिस्तानबीच खेलबाट प्रतियोगिता सुरु हुनेछ । मार्च २५(चैत १२) मा नेपालले कीर्गिस्तान तथा मार्च २७ (चैत १४) मा बंगलादेशसँग खेल्ने छ ।
दशरथ रंगशालामा हुने प्रतियोगिताका सबै खेल साँझ साढे ५ बाट हुने छन् । सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले मार्च २९ (चैत १६) मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एन्फाले दर्शकका प्रवेश अनुमती दिएको छ । त्यसका लागि टिकटको मूल्य साधारणतर्फ ७ सय र भिआइपी १ हजार ५ सय तोकिएको छ । एन्फाले रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि १२ हजार दर्शकलाई मात्रै प्रवेश गराइने बताएको छ ।
प्रतियोगितामा १ करोड खर्च तथा १ करोड ५० लाख आम्दानी हुने अनुमान गरिएको एन्फा प्रवक्त किरण राईले बताए ।