बालुवाटारमा ओली–प्रचण्डबीच वार्ता
असार ३१, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा केही समयअघिबाट वार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।
ओली र प्रचण्डबीच मंगलबार पनि झण्डै डेढ घण्टा वार्ता भएको थियो ।
गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागेपनि ओली त्यसको विपक्षमा छन् । यसबीचमा स्थायी समिति बैठक स्थगित गरेर ओली र प्रचण्डबीच पटक पटक वार्ता भएपनि सहमति हुन सकेको छैन ।
ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने नेताहरुको मागमा बिचको बाटो खोज्नेगरी छलफल भइरहेको नेकपाका अन्य नेताहरुले बताउँदै छन् । सातवटा एजेण्डा तय गरेर सुरु भएको स्थायी समिति बैठककै बीचमा अन्य एजेण्डा समेत थपिँदै आएका छन् ।