नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

   १३ फाल्गुन २०७७, बिहीबार १५:२२  

१३ फागुन, रौतहट । दक्षिण एशियामै पहिलो नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोमा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग गरी तयार गरिएको नक्सा नै डिजिटल नक्सा हो ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय मोटा विज्ञान अनुसन्धान केन्द्रले सिमिट नेपाल र नेपाल सीड एंड फर्टिलाइजर परियोजनाको सहयोगमा माटोको डिजिटल नक्सा तयार गरेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्साको सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताए । ‘माटोमा कुन पोषक तत्व छ, कुन पोषक तत्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ’, उनले भने । किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्च सक्ने पनि प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने तर्फ माटोको डिजिटल म्यापिङ महत्वपूर्ण फड्को भएको बताइन् । मन्त्री अर्यालले माटोको विद्युतीय नक्सांकन मार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्ने किसानले लिन सक्ने बताइन् । उनले कृषि मन्त्रालयमार्फत दक्षिण एशियाकै पहिलो देश हुनेगरी माटोको डिजिटल नक्सा तयार गर्न सफल भएको बताइन् ।

नक्साको प्रयोग विभिन्न मोबाइल एप्लिकेसन्स पनि तयार गरिने छ ।