मौरीको घार र गोला ल्याउदाँ व्यवसायीको विरोध

   १३ फाल्गुन २०७७, बिहीबार १२:५९  

१३ फागुन, रौतहट । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ ।

नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ र नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले कृषि तथा पशुपक्षीमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घार र गोला ल्याउन नदिन अनुरोध गरेका छन् ।

ती संस्थामध्ये एउटाको केन्द्रीय कार्यालय चितवन रहेको छ, भने दुईवटाको काठमाडौँमा रहेको छ । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले बुधबार ज्ञापनपत्र इमेलमार्फत पठाइएको र आज प्रत्यक्षरूपमा बुझाइने बताए ।

ती संस्थाले मन्त्रालयका दुवै जना सचिव, कृषि विभाग हरिहर भवन, पशु सेवा विभाग पशु क्वारेन्टिन महाशाखा हरिहर भवन र व्यावसायिक कीट विकास केन्द्रलाई बोधार्थ दिँदै ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले मौरीको घार र गोला ल्याउन रोक लगाउनुको कारणसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भारतका मौरीमा प्रशस्त कास्मिरी सुलसुले अर्थात माइटजस्ता परजीवी रोग लागेर त्यहाँ दुःख दिइरहेको भन्दै नेपालमा भित्रिएमा रोग फैलने उल्लेख छ ।