चिनी मिलमा उखुको अभाव

   ३ फाल्गुन २०७७, सोमबार ११:२८  

३ फागुन, रौतहट । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको छ । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई अहिले उखुको अभाव भएको हो ।

बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि आवश्यक पर्दछ । दुवै मिलले सिजनमा मुस्किलले ४० लाख क्विन्टल उखु मात्रै क्रसिङ गर्दै आएका छन ।

उखु अभाव भएपछि निर्धारित समयअगावै मिल बन्द गर्नुपर्ने अवस्था आएको महाकाली सुगर इन्डष्ट्रिजका प्रबन्धक सिडी पाण्डेयले बताए । “किसानलाई उखुको उत्पादन बढाउनका लागि जग्गा बढाउनुपर्ने हुन्छ”, उनले भने, “नयाँ प्रविधितर्फ आकर्षित गरी उन्नतजात लगाउन उत्प्रेरित गरिए उखुको उत्पादन बढाउन सकिन्छ ।”

विश्वका सबैभन्दा उन्नत उखुका जात ल्याएर किसानलाई लगाउन दिइएको उनको भनाइ छ । छ वटा उपकेन्द्रमा आबद्ध किसानलाई अनुदानमा कृषि उपकरणसमेत मिलका तर्फबाट उपलब्ध गराइएको इन्डष्ट्रिजका अर्का प्रबन्धक राजेश्वर शाहले बताए । कृषि उपकरणसँगै उखु खेती गर्ने आधुनिक तरिका किसानलाई सिकाइएको छ । “परम्परागतरूपमा हुँदै आएको खेती छाडेर किसानले ट्रेन्च प्रविधिबाट उखु खेती गर्दै आएका छन ।

“चिनी मिलले भुक्तानी दिएको ६ महिनापछि मात्रै सरकारले अनुदानबापतको रकम उपलब्ध गराउँछ । सरकारी अनुदानको रकम छिट्टै उपलब्ध गराउने व्यवस्था गरिए किसानको खेतीप्रतिको लगाव बढाउन सकिन्छ”, उनले भने।