२ लाख घुससहित चार सरकारी कर्मचारी पक्राउ

   २ फाल्गुन २०७७, आईतवार १६:१६  

२ फागुन, रौतहट । रोल्पामा कार्यरत ४ जना सरकारी कर्मचारी २ लाख घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित ४ जना घुस रकमसहित पक्राउ परेका हुन्।

घुस लिएको रकम बोकेर बागमती प्रदेश ०१-०२ झ ५३१८ नम्बरको गाडीमा बुटवलतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव-इन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर समेतलाई स्रोत नखुलेको नगद १ लाख ९० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।