मन्त्रिपरिषद्को निर्णय; यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाट नै हुने
२७ माघ, रौतहट । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) केन्द्रीय स्तरबाटै हुने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकले प्रदेश शिक्षा निर्देशनालयसँग छलफल गरेर केन्द्रले नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक कर्मचारीले जनाए ।
उनले भने, ‘नयाँ राष्ट्रिय शिक्षा ऐन बनिनसकेकाले प्रदेशस्तरमा परीक्षा सञ्चालनको ऐन नै छैन ।’ त्यसका लागि छुट्टै अध्यादेश जारी गर्नु पर्ने भएकाले परीक्षा केन्द्रस्तरबाटै हुने निर्णय भएको जनाएका छन् ।
विद्यालय क्षेत्र सम्बन्धी नयाँ संरचना अनुसार ८ कक्षाको परीक्षा पालिकास्तरमा, १० कक्षाको प्रदेशस्तरमा र १२ कक्षाको राष्ट्रियस्तरमा सञ्चालन गर्ने व्यवस्था रहे पनि सो अनुरुप कानुनमा संशोधन भइनसकेकाले यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाट साविक झै सञ्चालन हुने भएको शिक्षा मन्त्रालयले जनाएको छ ।