रौतहटमा बाढीको त्राश
रौतहट, २७ असार ।
पहाडी भेगमा केही दिन देखी परेको वर्षाका कारण रौतहटको लालबकैया नदीमा बाढी आएको छ । पूर्वमा रहेको बाग्मती नदीमा विस्तारै जलस्तर वृद्धि भए पनि लालबकैयामा भने पानीको वहाव उच्च रहेको छ ।
रौतहटका अधिकाशं भागमा विगत दुई दिन देखि लगातारको वर्षा भइरहेको छ । लालबकैयाको जलस्तर वृद्धि भए पछि गौर २ महादेवपट्टीमा दुई वर्ष अघि भत्कीएको बाँध मरम्मत नहुदा सो स्थान बाट सदरमुकाम गौर तर्फ बाढीको पानी पस्न थालेको छ । लाल बकैया नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउदा ईशनाथ नगरपालिका १ को बन्जरहा डुबानमा परेको छ । बन्जरहामा डुबानमा परेका तिन सय घर परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए । यसै गरी राजपुर नगरपालिका ८ बलुवा टोलमा पनि बाढीको पानी पसेको छ । बलुवा टोलका २० घरमा लालबकैयाको बाढी पसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसै गरी गौर नगरपालिकाको महादेवपट्टी र भन्सार क्षेत्रमा पनि बाढीको पानी पस्न थालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी श्रेष्ठले बताए । वर्षा नरोकिए बाढीको पानीले अन्य बस्तीहरु पनि डुबानमा पर्ने खतरा बढेको छ । बागमती पधेरा दोभान कर्मैया स्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको जनाइएको छ । बिहान साढे ६ बजे गरीएको मापन गरीएको पानी घट्दो छ, तर नदीको तल्लोतटिय क्षेत्रमा बर्षा भइरहेको समेत जनाइएको छ । रौतहट र सर्लाहीका तटिय क्षेत्रका बासिन्दालाइ सजग रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।