जनकपुर यातायात कार्यालयका दुई कर्मचारी घुस लिएको आरोपमा पक्राउ

   १४ माघ २०७७, बुधबार १३:१३  

१४ माघ, रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले घुस लिएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी र एकजना बिचौलियालाई घुस लिएको अभियोगमा मंगलबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलियाको काम गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका १० का राजकिशोर भगत रहेका आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

स्काभेटर र लोडरको लाइसेन्सका लागि सञ्चालित अन्तिम परीक्षामा सहभागी हुने परीक्षार्थीबाट दुवै जनाले घुस लिएको घण्डारीले जानए । दुवैजनाको खानतलासी गर्दा कापरको साथबाट २ लाख २३ हजार ८ सय ५० र भगतको साथबाट ५० हजार रुपैयाँ गरी जम्मा २ लाख ७३ हजार ८ सय ५० रुपैयाँ बरामद भएको भण्डारीले जानएका छन् ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।