५ करोड बढीको सामान भन्सार चलान
रौतहट, २७ असार ।
सशस्त्र प्रहरी बल रौतहटले यस आर्थिक वर्षको अन्तीम महिना सम्ममा ५ करोड भन्दा बढीका अवैध मालसामानहरु नियन्त्रणमा लिएर भन्सार बुझाएको छ ।
आर्थिक वर्षको २५ गते सम्ममा सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण हेड क्वाटरले ५ करोड ३२ लाख ८० हजार ८६६ रुपैंया बराबरको विभिन्न मालसामानहरु भन्सार बुझाएको हो । जिल्लाका भारत सँग सिमा जोडिएका नाकाहरुबाट अवैध रुपमा भन्सार राजश्व छलेर ल्याएका तस्करीका सामानहरु बरामद गरी बुझाएको सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताए ।
कोरोना भाइरस (कोविड १९) का कारण भएको लकडाउनको अवधिमा सशस्त्र प्रहरीले ५९ लाख १६ हजार २५५ रुपैंया बराबरको अवैध सामान पक्राउ गरि बुझाएको छ । गत आर्थिक वर्षको यसै महिनासम्ममा कुल १ करोड ८१ लाख ४८ हजार ५९७ रुपैंया बराबरको अवैध मालसामान बराबद गरेको कार्यालयले हाल सम्मकै सर्वाधिक रकम बराबरको सामानहरु भन्सार बुझाएको हो । तस्करहरुले ल्याएका कस्मेटिक, लताकपडा, विद्युतिय सामान, खाद्यान्न, काठ, सवारी साधन लगायतका विभिन्न सामानहरु सशस्त्र प्रहरीले भन्सार बुझाएको हो ।
“हामीले अवैध क्रियाकलापमा सँलग्न १७ जना व्यक्तिलाई पक्राउ गरि आवश्यक कारवाहीको लागी सम्बन्धीत निकायमा बुझाएका छौं ।” सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले भने “यो अवधिमा हामीले ३ थान पेस्तोल, १ थान भरुवा बन्दुक, केही गोलिहरु समेत बरामद गरेका छौं । ” रौतहटमा सँगठित तस्कर गिरोहहरुले भारतीय बजारबाट ल्याएको सामान नेपाली सिमाक्षेत्रको बंकुल, औरैया, गौर र बेलबिछवा लगायतका नाकाहरु प्रयोग गर्ने गरेकोमा सो नाका लगायत सिमाक्षेत्रमा समेत निगरानी बढाएको उपरिक्षक कर्णजितले बताए ।