ग्याङस्टार विकास दुवेको इन्काउन्टर!

   २६ असार २०७७, शुक्रबार ०८:२९  

२६ असार, काठमाडौं । उत्तर प्रदेशको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य आरोपी विकास दुबेको शुक्रबार बिहान मृत्यु भएको छ । उत्तर प्रदेश प्रहरीका अनुसार प्रहरीको एक स्पेसल टास्क फोर्स दुबेलाई लिएर मध्यप्रदेशबाट कानपुर आइरहेको थियो । बीचमा प्रहरीको गाडी पल्टियो । यही मौकामा दुबेले भाग्ने प्रयास गरेका थिए । अन्ततः प्रहरीको कारबाहीमा उनको मृत्यु भएको प्रहरीको दाबी छ । गोलीकाण्डको सात दिनपछि बिहीबारमात्रै दुबेलाई प्रहरीले नाटकीय ढंगले मध्यप्रदेशको उज्जैनबाट पक्राउ गरेको थियो ।

उज्जैनको आधिकारिक स्रोतका अनुसार विकास दुबेले बिहीबार बिहान महाकालेश्वर मन्दिर पुगेर २५० रुपैयाँको भीआईपी टिकट काटेका थिए । टिकटमा नाम पनि विकास दुबे नै लेखिएको थियो । उनीसँग एउटा झोला थियो । उनी मन्दिरमा चढाउने प्रसाद किन्नको लागि नजिकैको एउटा पसलमा समेत गएका थिए ।

विकास आफ्नो झोला कतै राख्न चाहन्थे । उनले एकजनासँग झोला राख्ने ठाउँ पनि सोधेका थिए । त्यसपछि दुबे दर्शन गर्न मन्दिरभित्र गए । यसै क्रममा सुरक्षा गार्डलाई उनीमाथि शंका भइसकेको थियो र उनीहरूले प्रहरीलाई सूचना पनि दिइसकेका थिए । मन्दिरबाट विकास बाहिर निस्किँदासम्म प्रहरी आइपुगिसकेको थियो र उनलाई हिरासतमा लिइएको थियो । विकासका दुई साथीहरू बिट्टु र सुरेशलाई पनि गिरफ्तार गरिएको थियो । तर उनीहरूको विषयमा भने केही बताइएको छैन ।

प्रहरीका एक अधिकारीले विकासको उज्जैनमा आएर महाकाल मन्दिर जानुको कारण विकास प्रहरीसँगको कुनै पनि मुठभेडबाट बच्न चाहनु रहेको बताए । विकास मन्दिर परिसरमा बिहान लामो समयसम्म घुमिरहेका थिए ।

प्रहरीले उनलाई गिरफ्तार गरेर लैजाँदै गर्दा उनी चिच्याइरहेका थिए, ‘म विकास दुबे हुँ, कानपुरवाला’ ।

विकास दुबेको गिरफ्तारपछि महाकाल प्रहरी थानामा लगिएको थियो । यो क्रममा उनले सञ्चारकर्मीसँग कुराकानी गर्ने प्रयास गरेका थिए । त्यति नै बेला विकासले पुनः चिच्याएर आफू कानपुरवाला विकास दुबे रहेको बताएका थिए । तर प्रहरीले उनलाई चिच्याउन दिइरहेको थिएन ।