पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

   २ माघ २०७७, शुक्रबार ११:४३  

 

२ माघ, रौतहट । भारतबाट बाराको अमलेखगञ्जसम्म इन्धन आपूर्तिका लागि प्रयोग भइरहेको ‘पेट्रोलियम पाइपलाइन’ बाट इन्धन चोरी भएको रहस्योद्घाटन भएको छ ।

भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको तथ्य प्रकाशमा आएको हो ।

कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन ।

भारतीय अखबार नवभारत टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो ।

इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ ।

नेपाल आयल निगमले भारतीय भूमिमा भएको इन्धन चोरीको असर वा क्षति नेपालले व्यहोर्नु नपर्ने जनाएको छ ।