मर्मत नगरेको विरोधमा सडकमा रोपाइँ
असार २५, रौतहट । मर्मत नगरेको विरोधमा रुपन्देहीको तिलोत्तमामा पत्थरडाँडा तिनाउ सडक खण्डको तीनधुरामा स्थानीयले सडकमा धान रोपाइँ गरेका छन् ।
खाल्डा परेर बर्षायाममा सडक हिलाम्य भएर आवतजावतमा समस्या परेपछि वडा नंं। १३ र १४ का स्थानीय बासिन्दाले रोपाइँ गरेर विरोध जनाएका हुन् ।
सडक मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि नगरपालिकाका जनप्रतिनिधिहरुबाट सुनुवाई नभएपछि दवाव दिन सडकमा रोपाइँ गर्न बाध्य भएको स्थानीय अभिषेक न्यौपानेले बताए । ‘सडकबाट नगरपालिकाले बर्षेनी सडक करको नाममा लाखौं रुपैयाँ संकलन गर्छ तर मर्मत नगर्दा पैदल, साइकल र मोटरसाइकलमा हिंंड्न नसक्ने भयो’ उनले भने ।
क्रसर र सिमेन्ट उद्योगमा नदीजन्य पदार्थ ढुवानी गर्ने टिपरका कारण सडक जीर्ण भएको स्थानीयले बताएका छन् ।
नगरपालिकाले १७ वडामध्ये दुई वटा वडा (१३ र १४) बाट नदीजन्य पदार्थ उत्खननबाट बार्षिक करोडौं आन्तरिक आम्दानी गरे पनि सडक जीर्ण हुँदासम्म मर्मत नगर्दा स्थानीय बासिन्दा रुष्ट भएका अर्का स्थानीय निमबहादुर क्षेत्रीले बताए ।
सडक जीर्ण भएकाले पटक पटक दुर्घटना हुने गरेको र सोही सडकमा गाडी चलाउँदा नापी कार्यालय बुटवलका सर्वेक्षक हेमन्त पौडेल दुर्घटना भई गम्भीर घाइते भएर उचारको लागि काठमाडौं पुर्याइएको क्षेत्रीले बताए ।