टोखामा मृत अवस्थामा भेटिए दम्पती

   २५ पुष २०७७, शनिबार ११:५०  

२५ पुस, रौतहट । टोखाको एक हाउजिङमा बस्दै आएका उमेश केसी र उनकी पत्नी सुदीक्षा गिरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

सुर्खेत घर भइ टोखाको बस्दै आएका कोठाभित्रै श्रीमान् लडिरहेको अवस्थामा र श्रीमती झुण्डिएको अवस्थामा मृत भेटिएका महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डीएसपी) प्रमेश विष्टले जानकारी दिएका हुन् ।

भित्रबाट बन्द गरिएको कोठामा शव भेटिएकोले सुदीक्षाले श्रीमानको हत्या गरेर आफूले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

उमेशको शव नजिकै रगत लागेको सिलौटो फेला परेको र कानबाट रगत बगेको देखिएको प्रहरीले जनाएको छ । उमेश केही हप्ता अगाडिमात्रै अमेरिकाबाट फर्किएका थिए । उनीहरु दुवै जना इन्जिनियर भएको बताइएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।