बर्दीमा दाग लगाउने कोसिस गरे कारबाही गर्ने चेतावनी : आइजीपी थापा ।

   २५ असार २०७७, बिहीबार ०९:४२  

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न तथा पदभार ग्रहण गरेका छन्।

आज गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेका हुन्। त्यसलगतै नवनियुक्त महानिरीक्षक थापाले नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पदभार सम्हालेका छन् ।

कार्यक्रममा महानिरीक्षक थापाले कसैले पनि बर्दीमा  दाग लगाउने कोसिस गरे निर्मम रुपमा कारबाही गर्ने चेतावनी दिए। महानिरीक्षक थापाले भने, ‘हामी कानुन कार्यान्वयन गर्ने निकाय हौं, कानुन उल्लंघन गर्ने निकायको रुपमा रुपान्तरण हुन कुनै पनि हालतमा हुँदैन, कसैले पनि बर्दीमा दाग लगाउने कोसिस गर्छ भने उसमाथि निर्मम रुपमा कारवाही प्रक्रिया अगाडि बढाइने छ।’

सरकारले थापालाई मंगलवार महानिरीक्षकमा नियुक्त गरेको हो। उनले विवेकले भ्याएसम्म निस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमान्दार प्रयास गर्ने बताए।  प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन। प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ। यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ। मेरो सफलता वा असफलता भनेको यिनै कुराहरुको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरो पूरा तागत यसमा लगाउने वाचा गर्दछु,’ उनले भने।

नव नियुक्त महानिरीक्षक थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका थिए। प्रहरी महानिरीक्षक थापा क्षेत्री २०५८ फागुन १० गते प्रहरी नायव उपरीक्षक, २०६७ पुस २० गते प्रहरी उपरीक्षक,२०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक,२०७६ चैत ९ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका हुन्।