बालुवाटारमा ओली–प्रचण्डबीच छलफल सुरु

   २४ असार २०७७, बुधबार ११:४९  

असार २४, रौतहट । नेपाल कम्युनिस्ट पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल सुरु भएको छ । दुई नेताबीचको वार्ता चार बजेलाई तय भएपनि केही ढिला गरी सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

आइतबार यता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । दैनिक तीन दिनसम्म भएका वार्तामा ओली–प्रचण्डबीच एकले अर्काको कुरा सुन्ने काम भएपनि सहमतिको विन्दु भने पहिचान हुन नसकेपछि उनीहरुबीच पुन वार्ता भएको हो ।

आजको वार्तामा नेताहरुले सहमतिको विन्दु खोट्याउने अपेक्षा गरिएको छ । प्रचण्डसहितका शीर्ष नेताहरु प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन्, भने ओली राजीनामा बाहेकमा मात्र सहमति गर्न सकिने बताउँदै आएका छन् ।

दुवै पक्षको यहीँ अडानका कारण नेकपामा ‘टकराव’ चुलिदै गएको छ । जसका कारण असार १८ पछि स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । सथायी समितिको अर्को बैठक आगामी शुक्रबार बिहान ११ बजेलाई तोकिएको छ ।