ससुराले कुटे, श्रीमान‍्ले भिडियो बनाए

   २४ असार २०७७, बुधबार ११:१८  

असार २४, रौतहट । अछामको मंगलसैन नगरपालिका–७ घर भई भारतको पुनामा बस्दै आएकी एक बालिकालाई श्रीमान र ससुराले कुटपिट गरेको भिडियो हिजोआज सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय, अछामले पनि चासो देखाएको छ ।

प्राप्त विवरणअनुसार मंगलसेन नगरपालिका–३ लाछिमना घर भएका कालु भुलको परिवार पुनामै बस्दै आएको छ ।
उनका १६ बर्षे छोरा दिनेश भुल र पीडित किशोरीबीच प्रेम सम्बन्धपछि एक बर्ष अघि बिहे भएको थियो । बिहेपछि दुबै भारत गए । तर अनेक बहानामा किशोरीलाई यातना दिन थालिएको उनका आफन्तहरु बताउँछन् ।

अहिले भाइरल भएको भिडियो भने चोरीको आरोपमा भएको कुटपिटको भएको पाइएको छ । कालु भुलले बुहारीलाई कुटपिट गरेको भिडियो पीडितका श्रीमानले बनाएका थिए । कुटपिटका क्रममा बालिकाले गुहार मागेपछि उनले मुखमा कपडा कोचेर कुट्न आग्रह गरेको सुनिन्छ ।
काम गर्ने घरमा मालिक्नीको लिपिष्टिक र घडी चोरेको आरोपमा उनीमाथि कुटपिट भएको हो । मालिक्नीलाई देखाउन कुटपिटको भिडियो खिचिएको ससुरा कालु बताउँछन् ।

मरणासन्न हुने गरी कुटपिट गरेपछि बालिकालाई माइती पक्षको जिम्मा लगाइएको छ । उनी भारतमै रहेका काकासँग बस्दै आएकी छन् । साथै माइती पक्षलाई एक लाख ५० हजार रुपैयाँ उपचार खर्च दिएको ससुरा कालु भुलले बताए ।

यो भिडियोबारे चासो देखाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापा भन्छन्, ‘घटना भारतमा भएको हुँदा छानविन गर्न समस्या भएको छ ।’ तर पीडितका आफन्तहरुसँग समन्वय गरेर भारतमा घटना भएको नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सल्लाह दिइएको बताए ।

उनले अघि भने, ‘हामीकहाँ निवेदन दिनुहुन्छ, भने हामी प्रहरी विभागमा पठाउँछौं, तर प्रक्रिया लामो हुन्छ ।’
अछामकी महिला अधिकारकर्मी पशुपति कुँवरले किशोरीको उद्दार गर्न र पीडकलाई सजाय दिलाउन भारतमा रहेका प्रवासी नेपाली संगठनहरुसँग छलफल भइरहेको बताइन् ।
उनले भनिन्, ‘कस्तो कानुनी बाटो अपनाउन सकिन्छ, भनेर प्रहरी, कानून व्यवसायी र अधिकारकर्मीहरुबीच छलफल भइरहेको छ ।’