पक्राउ परेपछि उखुको भुक्तानीमा अग्रवालको चासो

   १९ पुष २०७७, आईतवार १२:०८  

१९ पुस, रौतहट । लुम्बिनी चिनी उद्योगले एक साताभित्रै आन्तरिक समस्या टुंग्याएर किसानको भुक्तानी सुरु गर्ने प्रतिबद्धता जनाएको छ ।

सरकारसँग भएको सम्झौताअनुरूप उसले पुस मसान्तअघि नै सम्पूर्ण किसानको भुक्तानी चुक्ता गरिसक्ने जनाएको हो ।

आन्तरिक समस्या एक साताभित्रै सल्टाएर किसानको भुक्तानी सुरु गर्ने लिखित प्रतिबद्धता जनाएपछि मिलका सञ्चालक मनोज अग्रवाल तारेखमा छुटेका छन् । यही पुस १६ गते (बिहीबार)अग्रवाललाई पर्साबाट प्रहरीले पक्राउ गरेको थियो । नियन्त्रणमा लिएपछि उनलाई प्रहरीले बिहीबार राति नै उनलाई नवलपरासी ल्याइएको थियो ।

दुई वर्षदेखि उखुको भुक्तानी नपाएका किसानले उद्योगका सञ्चालकविरुद्ध ठगी गरेको भन्दै मुद्दा हालेका थिए ।

सुनवल नगरपालिकाका उखु किसान ज्ञानचन्द्र यादव, जर्नादन यादव, वीरेन्द्रकुमार गुप्ता, हरिलाल गुप्ता, अर्जुन चौधरीलगायतका किसानले उद्योगका सञ्चालक सुशिला गोयल (अग्रवाल) बिरुद्ध पुस २ गते ठगी मुद्दा दर्ता गरेका थिए ।