घट्दैछ नेपालमा कोरोना संक्रमणरु

   २४ असार २०७७, बुधबार १०:४८  

असार २४, रौतहट । पछिल्ला केही दिनदेखि नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो पाँच दिनको तथ्यांक हेर्ने हो भने पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको दर १६, ५ बाट ३, ३ प्रतिशतमा झरेको छ ।

असार १९ गते शुक्रबार एकैदिन ७ सय ४० जना संक्रमित देखिएका थिए । त्यो दिन ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण गरिएको थियो। त्यसपछिका दिनमा संक्रमणको दर लगातार घटेको छ ।

शनिबार ४ हजार ५० जनाको परीक्षण गर्दा २ सय ३२ जनामा संक्रमण पुष्टि भयो । त्यसपछि आइतबार कोरोना संक्रमितको संख्या फेरि थोरै उकालो लाग्यो । उक्त दिन ४ हजार ७ सय १० जनाको परीक्षण गरिएकोमा २ सय ९३ जनामा संक्रमण पुष्टि भयो।

सोमबार ४ हजार ७ सय जनाको परीक्षण गरिएकोमा १ सय ८० जनामामात्र संक्रमण देखियो। मंगलबार भने ६ हजार १ सय ३३ जनाको परीक्षण गर्दा २ सय ४ जना संक्रमित थपिए।

यसरी पछिल्ला पाँच दिनको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या घट्दै गएको देखिन्छ। यद्यपी नेपालमा कोरोना संक्रमण घट्दै गएको छ, भन्ने निष्कर्षमा पुगिहाल्न पाँच दिनको आँकडा नै पर्याप्त भने होइन।

बुधबार बिहानसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ छ । जसमा एक्टिभ केस ८ हजार ६ सय ३४ जना छन् । ३५ जनाको मृत्यु भएको छ भने ७ हजार ४ सय ९९ जना डिस्चार्ज भएका छन्। संक्रमित मध्ये ४६ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन्।

क्वारेन्टिनमा बस्ने व्यक्तिहरूको संख्या पनि ह्वात्तै घटेको छ । अहिले २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा छन्। जब कि असार १ गते १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टिनमा थिए । एक महिना नबित्दै एक लाख बढी मानिसलाई क्वारेन्टिनबाट घर पठाइएको छ।