मनकामना केबुलकार पुस १४ गतेदेखि २० गतेसम्म बन्द हुने
१३ पुस, रौतहट । मनकामना केबुलकार सेवा एक साता बन्द हुने भएको छ ।
नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यहीँ पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
कोरोनाको महामारीसँगै ९ महिना बन्द रहेको केबुलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनले बताएका छन् ।
यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको उनको भनाइ छ । नियमित मर्मतसम्भारपछि पुस २१ गते मंगलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।






