डुबानमा परेको महेन्द्रनगर, घरभित्र बाढी पस्दा खाने अन्न पनि बाँकी रहेन

   २४ असार २०७७, बुधबार ०७:२६  

असार २४, रौतहट । बुधबार बिहानबाट भइरहेको अविरल वर्षाका कारण कञ्चनपुरका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् । कञ्चनपुरका ग्रामिण क्षेत्रमा नदीहरुले कटान गरिरहेका छन् भने बजार क्षेत्र डुबानमा परेकाछन् ।

महेन्द्रनगर बजारको रहेको भीमदत्त नगरपालिकाका वडा नं १८ र ४ पनि अहिले डुबानमा परेका छन् । हालसालै बनाइएका सडक र नालीहरु अव्यवस्थित र मापदण्डअनुसारका नभएकाले बजार क्षेत्र डुबानमा परेको स्थानीयहरुले बताएका छन् ।

नयाँ बनाईएका नाली घरको फाउण्डेसनभन्दा माथि रहेकाले पानी नालीमा नगएर सबै घरमा पसेको कटानका स्थानीय हरी बोहराले बताए ।
बागवानीमा १५ घर डुवानमा परेको पीडित कृष्णा नेपालीले बताईन् । आफनो २ कोठे भवनमा पूरै पानी पसेकोले सरसामान सबै भिजेको उनले बताईन् ।
जनप्रतिनिधहिरुको टोली सडकबाटै हेरेर गएको पीडितले बताए । नाली र सडक राम्रो नबनाएकाले घरमा पानी पसेको उनीहरुको दावी छ ।