संक्रमितलाई परीक्षण नगरी घर पठाइँदै
असार २४, रौतहट । कैलालीको घोडाघोडी नगरपालिका–६ का एक जनामा गत साता कोरोना संक्रमण पुष्टि भयो । कुनै लक्ष्ण नदेखिएको र १४ दिने क्वारेन्टाइन अवधि पूरा भएको भन्दै उनलाई घर पठाइसकिएको थियो । घरमा एक साता अलग्गै बस्न भनिए पनि उनी परिवारका सदस्यसँगै रहे । ‘रोपाइँ सुरु गर्नुपरेको थियो,’ उनले भने, ‘कामका बेला कसरी आइसोलेसनमा बस्ने ।
परिवारका सदस्यसँंगै रोपाइँमा जुटेका उनमा र घरका सदस्यमा कोरोनाको लक्ष्ण देखिएको छैन । लक्ष्ण नदेखिएकाले जाँच गरिएको छैन । ‘म समुदायमा घुलमिल हुनबाट त टाढै छु,’ उनले भने, ‘तर २१ दिनभन्दा बढी भएको र कुनै लक्ष्ण नदेखिएकाले निको भइसकेको जस्तो लाग्छ । स्वास्थ्यकर्मीले पनि निको भइसकेको हुन सक्छ भनेका छन् । तर परीक्षण भने गरिएको छैन ।’
घोडाघोडी नगरले अघिल्लो साता क्वारेन्टाइनमा बसेका ७० जनाको स्वाब संकलन गरी पठाएका ३१ जनामा संक्रमण देखिएको थियो । लक्षण नदेखिएपछि सबैलाई होम क्वारेन्टाइनमा बस्न भन्दै घर पठाइएको थियो । नगरप्रमुख ममताप्रसाद चौधरीले १४ दिनपछि लक्ष्ण नदेखिएका संक्रमितलाई होम क्वारेन्टाइनमा एक साता बस्नु भन्दै पठाउने गरिएको बताए ।
बेलाबेला स्वास्थ्यकर्मीबाट अनुगमन गरिए पनि होम क्वारेन्टाइनमा बसे र नबसेको थाहा नहुने उनको भनाइ छ । स्थानीयहरु भने सरकारले संक्रमितको पहिचान लुकाउँदा झन् जोखिम बढेको बताउँछन् । ‘संक्रमितलाई निको नहुँदै घर पठाइएको छ, उनीहरुबारे समुदायलाई थाहा नहुँदा संक्रमणको डर बढेको छ,’ घोडाघोडीका मेखराज चौधरीले भने ।
संक्रमण देखिएका र नदेखिएकाहरु क्वारेन्टाइनबाट एकैपटक फर्केर मेलापात, छलफल, कचहरीमा सहभागी भइरहेको उनले बताए ।