तीन वर्षीया बालिकाको हत्याविरुद्ध पथलैया–वीरगन्ज सडक अवरुद्ध

   ४ भाद्र २०८३, बिहीबार ०९:३७  

४ भदौ, बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । बिहीबार (भदौ ४) पनि प्रदर्शन जारी छ । बुधबार (भदौ ३) पनि बिहानदेखि प्रदर्शन गरिएको थियो ।

पीडित परिवार तथा स्थानीयले पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन् । प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

सडक अवरुद्ध हुँदा वीरगन्ज–पथलैयाखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् ।

गएको साउन ३१ गतेदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमाको हत्या सोही दिन भएको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।