बाढी, पहिरो र डुबानको जोखिमबाट सतर्कता अपनाउन प्राधिकरणको आग्रह

   १५ असार २०८३, सोमबार ०९:४४  

१५ असार, रौतहट । । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा असार १५ र १७ गते भारीसम्म वर्षाको सम्भावना भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले यही असार १६ र १७ गते मनसुनी गतिविधि बढ्न गई विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

“मनसुनी गतिविधि बढ्न गई मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । यसैगरी देशका पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको संभावना रहेको छ,” प्राधिकरणले विज्ञप्तिमा भनेको छ, “यस्तो बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन र पूर्वतयारी गर्नुहुन सबैमा अनुरोध गर्दछौँ ।”

प्राधिकरणले जोखिमको अवस्थालाई मध्यनजर गर्दै बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेहरू, पहिरोको जोखिममा रहेका स्थान तथा खोला/नदी किनाराका बस्तीका बासिन्दाहरूले बढी सतर्कता अपनाउन अनुरोध गरेको छ । जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्न भनिएको छ ।

वर्षा र बाढीबारे जानकारी लिन ११५५, विप‌दमा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा सेभ गरी राखे र आवश्यक पर्नासाथ फोन गर्न भनिएको छ ।