सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

   २४ बैशाख २०८३, बिहीबार १४:४६  

२४ वैशाख, सर्लाही । सर्लाहीमा यात्रुबाहक बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–९ अन्तर्गत पर्ने संग्रामपुर–बाँके सडक खण्डमा बिहीबार बिहान उक्त दुर्घटना भएको हो।

प्रहरीका अनुसार ग १ ख ९४६७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आइरहेको ना४८प ४७० नम्बरको अपाचे मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक श्याम ठाकुर उर्फ पप्पु गम्भीर घाइते भएका थिए।

घाइते ठाकुरलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि बस चालक बद्री मण्डल फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको तथा चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।